काठमाडौं, भदौ ११ - प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। प्रधानमन्त्रीको टोली बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ गएको हो।
हिजो रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय हुँदै आएका छन्। बाढीपछि उनले उच्चस्तरीय बैठक बोलाएर उद्धार, राहत तथा प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
आजको स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले विदुर र आसपासका प्रभावित बस्तीमा बाढीबाट भएको क्षतिको प्रत्यक्ष जानकारी लिनेछन्। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत वितरण, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
समयको सीमाका कारण प्रधानमन्त्रीको टोलीले आज नुवाकोटको विदुर तथा आसपासका प्रमुख प्रभावित क्षेत्रको निरीक्षण गर्नेछ। प्रभावित क्षेत्रमा राहत छिटो पुर्याउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन आवश्यक निर्देशनसमेत दिने तयारी रहेको छ।
प्रतिक्रिया दिनुहोस