विराटनगर । काठमाडौंमा बसेर आमाको गर्जो टार्दै गरेकी ओखलढुंगाकी एक युवतीले सडक दुर्घटनामा ज्यान गुमाएकी छन् ।
मृत्यु हुनेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-२ वाक्साकी १९ वर्षीया सम्झना राई रहेकी छन् ।
सम्झना काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली बस्दै आएकी थिइन् । स्नातक तहमा अध्ययन गर्दै गरेकी राई पढाइ खर्च र आमाको गर्जो टार्न पिज्जा हटमा काम गर्दै आएकी थिइन् ।
राईकी ४८ वर्षीया आमा विष्णुमाया राई मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा एक्लै बस्दै आएकी छन् ।
करिब १६ वर्ष अघि सम्झनाका बुबाको पनि निधन भएको थियो । सम्झना घरकी एक्ली सन्तान हुन् ।
हिजो साँझ साढे ७ बजे काम सकेर कोठामा फर्किँदा सडक पार गर्नेक्रममा सम्झना दुर्घटनामा परेकी हुन् ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध प्रहरी वृत्तअगाडि बुधबार साँझ भएको सडक दुर्घटनामा परी सम्झनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक पार गर्ने क्रममा चुच्चेपाटीबाट बौद्धतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३३ प ८६४८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आएको ना ८ ख १११९ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा राईको घटनास्थलमै मृत्यु भएको थियो ।
मोटरसाइकल चालक काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष २७ का विवेक श्रेष्ठ र ट्यांकर चालक चितवन खैरेनी –१० का डम्बर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस