
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा सोमबार मात्रै भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ, काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ, र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।
चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ। चाडपर्व र प्राकृतिक विपद्को समयमा कालोबजारी मौलाएको गुनासो आएपछि विभागले दैनिक अनुगमन टोलीको सङ्ख्या बढाउँदै ११ वटा टोली काठमाडौँ उपत्यकामा परिचालन गरेको छ।
विभागका महानिर्देशक राजन पौडेलले चाडपर्वसँगै कालोबजारी फस्टाउँदा गुणस्तरहीन सामग्रीको विक्री र म्याद गुज्रिएका सामग्रीहरूको अनुगमन तीव्र पारिएको बताएका छन्। देशभर सहायक सिडिओको नेतृत्वमा स्थानीय पालिकाहरूसँग समन्वय गरी बजार अनुगमन कार्यलाई थप सक्रिय बनाइएको छ, जसमा म्याद गुज्रिएका सामग्री र कालोबजारी नियन्त्रणको प्राथमिकता राखिएको छ।
प्रतिक्रिया दिनुहोस