
सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बिक्रीमा रोक लगाएपछि स्थानीय व्यवसायीहरूले तिहार पर्वलाई लक्षित गर्दै कपडाका माला र पुष्पगुच्छाको विक्रीवितरण गर्न थालेका छन्। स्थानीय व्यवसायी अनुप लखेटका अनुसार गत वर्षका मौज्दात कपडाजन्य माला अहिले पनि बिक्री भइरहेको छ।
व्यवसायीले बताएका छन् कि गत वर्ष प्रशासनले प्लाष्टिकका माला जलाएपछि उपभोक्ताहरू प्लाष्टिक माला खोज्न बन्द गरेका छन्। यसै क्रममा, अर्का व्यवसायी अकबर अलीले पनि प्लाष्टिकजन्य सामग्रीमा रोक लागेपछि मौज्दात रहेका कपडाका माला बजारमा ल्याइएको बताए।
नेपालगञ्जका सदरलाइन, एकलैनी, न्यूरोडजस्ता क्षेत्रमा रंगीबिरंगी कपडाका मालाले बजार झकिझकाउ बनेको छ। साथै, भाइ मसला र अन्य तिहारका सामग्री किनमेल गर्न स्थानीय बजारमा भीडभाड बढ्दै गएको छ। बागीश्वरी मन्दिर आसपासका क्षेत्रहरूमा विशेष गरी भाइ मसला, टीका, माला, र फलफूल किन्न उपभोक्ताहरूको चहलपहल देखिन्छ।
उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले प्लाष्टिकजन्य माला र पुष्पगुच्छा प्रतिबन्धित विषयमा व्यापारीलाई उचित जानकारी नआएको गुनासो गर्दै सरकारी अनुगमनको अभाव रहेको बताए।
यसैबीच, बाँकेको कोहलपुर नगरपालिकालगायत स्थानीय निकायहरूले पनि तिहारलगायत पर्वमा स्थानीय किसानले उत्पादन गरेका फूलको उपयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस