
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा कुमार रम्तेललाई पोखराबाट काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार उनलाई झिकाएर बयान लिइरहेको छ।
परिसर स्रोतका अनुसार बयानको प्रक्रिया अन्तिम चरणमा पुगेको र उनलाई चाँडै पोखरा फिर्ता पठाइने तयारी गरिएको छ। रम्तेल यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा पनि पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए।
रम्तेल पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष हुन्। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार सहकारीबाट १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको अनुमान गरिएको छ। यस प्रकरणमा गीतेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
प्रहरीले रम्तेलको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याएर बयान लिने तयारी गरेको छ।
आइतबार काठमाडौं जिल्ला अदालतले लामिछाने र जोशीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। कालिमाटी प्रहरी वृत्तमा जाहेरी परेपछि सुरु भएको अनुसन्धान अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत अघि बढाइएको छ। सहकारी ठगी प्रकरणले सहकारी क्षेत्रमा विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ भने पीडितहरूले दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस