८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भक्तपुर क्यान्सर अस्पतालले बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु  

भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु गरेको छ।



Cancer Hospital
  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ६१
  • भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु गरेको छ। अस्पतालले मङ्सिर २ गतेदेखि बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा उपलब्ध गराउन थालेको हो।  

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पतालहरूमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो। भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार यो निर्णय अनुसार सेवा सुरु गरिएको हो।  

    सरकारले भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल (काठमाडौं), र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) मा बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क गराउने निर्णय गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बालबालिकाको क्यान्सर उपचारलाई प्राथमिकतामा राख्दै यो पहल सुरु गरेका थिए।  

    डा. चालिसेले भने, 'यो नेपालमै पहिलोपटक भएको ऐतिहासिक पहल हो। अब बालबालिकाले आर्थिक अभावका कारण क्यान्सरको उपचार नपाउने स्थिति अन्त्य हुनेछ।' बालबालिकाको उपचारसँगै ३५ प्रकारका क्यान्सर औषधि पनि निःशुल्क उपलब्ध गराइने छ। नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग २०८० चैत १४ मा सम्झौता गरी बालबालिकाका लागि आवश्यक औषधि प्राप्त गर्न सहमति गरेको थियो।  

    भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजका अनुसार हाल करिब ६० बालबालिकाले क्यान्सरको उपचार गराइरहेका छन्। नेपालमा हरेक वर्ष १५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ। स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा कुल मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गर्दछ, जसमा ११ प्रतिशत क्यान्सरका कारण हुने बताइएको छ।  

    यो निःशुल्क सेवा सुरु भएपछि नेपालका बालबालिकामा क्यान्सरका कारण हुने मृत्युदर कम हुने अपेक्षा गरिएको छ।