
काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धका कागजात, भिडियो, र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन्।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका क्रममा उनले ती प्रमाण आफूले निर्माण नगरेको र कम्बोडियामा बस्ने एक नेपालीले पठाएको दाबी गरेका छन्।
प्रसाईँका अनुसार ती कागजातमा प्रधानमन्त्री ओलीले कम्बोडियाको स्मार्ट अक्सियटा कम्पनीमा २१ करोड अमेरिकी डलर (नेपाली रुपैयाँ साढे ३२ अर्ब) लगानी गरेको उल्लेख छ। उनले ती सामग्री मिडिया मार्फत जनतालाई प्रस्ट पार्नका लागि मात्र सार्वजनिक गरेको बताए।
प्रसाईँले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा आफूले ती प्रमाणहरू निर्माण नगरेको र पत्रकार सम्मेलनमा पाएको सामग्री सार्वजनिक गरेको स्पष्ट पारे। उनले नेपालमा भइरहेको राजनीतिक अस्थिरता, भ्रष्टाचार, आर्थिक सङ्कट र युवाहरूको विदेश पलायन जस्ता समस्याप्रति ध्यानाकर्षण गराउँदै विगत ३ वर्षदेखि सामाजिक अभियान सञ्चालन गरिरहेको बताए।
अभियोगपत्रमा दुर्गा प्रसाईँ विरुद्ध सार्वजनिक गरिएका कागजात, भिडियो र फोटोले प्रधानमन्त्रीको छवि धूमिल बनाउने उद्देश्य राखिएको आरोप छ। अदालतले ती सामग्रीको प्रमाणिकता र प्रसाईँको भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस