१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उच्च अदालतको आदेश: नक्कली शरणार्थी प्रकरणमा आरोपी थुनामै रहने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झा र प्रतिक थापालाई उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ।



Bechan Jha and Pratik Thapa
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७६
  • काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ।

    ठगी, लिखत किर्ते, राज्य विरुद्धको अपराध र संगठित अपराधका आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो।

    उच्च अदालत पाटनका न्यायाधीश अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई सदर गर्दै झालाई कारागारमै राख्न निर्देशन दिएको हो। अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यका अनुसार, "जिल्ला अदालतको आदेश ठिक भएकाले त्यसलाई कार्यान्वयन गर्न आदेश जारी गरिएको छ।"

    थुनामा रहेका प्रतिक थापालाई पनि उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ। थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्। उनीहरू दुवैले जिल्ला अदालतको आदेश पुनर्विचारका लागि उच्च अदालतमा निवेदन दिएका थिए।

    बेचन झालाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानका आधारमा असार १४ गते पक्राउ गरिएको थियो। झा र थापा दुवै लामो समय फरार रहँदै आएका थिए। झाले भने आफू दोषी नभएको दाबी गरेका छन्।

    यसअघि, काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले गत भदौ २ गते झा र थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालतले सो आदेशलाई यथावत् राखेको छ।