१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अछाममा दुई किशोरीको रहस्यमय हत्या, परिवारले न्यायको माग

जंगलमा बाख्रा गोठालाले बाख्राहरू तर्सिएको देखेपछि शंका लागेर खोज्दा शव भेटिएको स्थानीयले बताएका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३२५
  • अछाम, माघ १७ - अछामको ढकारी गाउँपालिका–१ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको छ। गाउँपालिका-८ निवासी १५ वर्षीया ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्काको शव शनिबार साँझ फेला परेको हो।

    शुक्रबार बिहान ९ बजे बाख्रा चराउन गएका उनीहरू शनिबार साँझसम्म घर नफर्किएपछि खोजी गरिएको थियो। जंगलमा बाख्रा गोठालाले बाख्राहरू तर्सिएको देखेपछि शंका लागेर खोज्दा शव भेटिएको स्थानीयले बताएका छन्।

    घटनाको जानकारी पाएपछि प्रहरी र स्थानीयले शव सुरक्षित राख्दै रात बिताएका थिए। आइतबार बिहान जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि पठाएको छ।

    मृतक किशोरीका परिवारले उनीहरूलाई हत्या गरिएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। सरस्वतीकी आमा तारादेवी खड्काले छोरीलाई निर्दयी रूपमा हत्या गरिएको बताउँदै दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेकी छन्।

    प्रहरीले घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। मृतक किशोरीका आफन्तले दुई किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका किशोर २० वर्षमुनिका छन्। अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी भण्डारीले जानकारी दिएका छन्।

    यस घटनाको गम्भीर अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ। अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोली समेत संलग्न रहेको छ।

    यसैबीच, बुधबार मृतक किशोरीहरूको दाहसंस्कार गरिएको छ। परिवार र स्थानीयले दोषी पहिचान गरी न्याय दिन सरकारसँग माग गरेका छन्।