चितवन, माघ २२ – सहारा सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा सञ्चारकर्मी तथा राजनेता रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवन जिल्ला अदालतमा ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ।
सरकारी वकिल कार्यालय, चितवनले मंगलबार लामिछानेसहित ३२ जनालाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी तथा संगठित अपराध मुद्दामा अदालतमा पेश गरेको हो।
सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूका आधारमा उनीहरूविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
यसअघि, सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी बुझाएका लामिछानेलाई अदालतमा उपस्थित हुन चितवन झिकाइएको छ। मुद्दा दर्ता भएसँगै उनी स्वयम् काठमाडौंबाट चितवन आउने क्रममा रहेको सूचना अधिकारी विश्वकर्माले बताए।
अनुसन्धानका क्रममा गोरखा मिडियासहित विभिन्न कम्पनीहरूमा सहकारी बचतको ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको पुष्टि भएको छ। गोरखा मिडियामै मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको प्रहरीले जनाएको छ।
त्यस्तै, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार, स्प्रिङ उड र नेचर नेस्टमा समेत अवैध तरिकाले रकम पुगेको भेटिएको छ।
यस मुद्दामा बुधबारदेखि अदालतमा बहस सुरू हुने छ।
प्रतिक्रिया दिनुहोस