काठमाडौं, माघ २९ – वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोर्चुगल र जापान पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ असुली गरी सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ मा बसोबास गर्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ मा बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन्।
प्रहरीका अनुसार पूर्णबहादुरले ३ जना पीडितहरूबाट ९ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए, भने राजकुमारले १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई फरार भएका थिए। पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई खोजी गरी आइतबार पक्राउ गरेको हो।
पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका-२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि कानुनी प्रक्रियामा अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस