वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग विवाद भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्।
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार जेलेन्स्की सहित युरोपेली नेताहरूको बैठक आयोजना गरेका छन्। उक्त बैठकमा सहभागी हुन जेलेन्स्की शनिबार नै लण्डन आइपुगेका थिए। स्टार्मरले जेलेन्स्कीलाई विशेष स्वागत गर्दै युक्रेनप्रति बेलायतको अटुट समर्थन रहने बताएका छन्।
ह्वाइट हाउसमा भएको विवादपछि बेलायतले तत्कालै युक्रेनबारे छलफलका लागि बैठक बोलाएको हो। बैठकमा युक्रेनलाई आर्थिक तथा सैन्य सहायता निरन्तर गर्ने विषयमा छलफल भएको बताइएको छ।
बिबिसीका अनुसार बेलायत र युक्रेनबीच २ अर्ब २६ करोड पाउन्ड बराबरको ऋण सम्झौता भएको छ। उक्त रकम कब्जा गरिएका रूसी सम्पत्तिबाट आउने नाफाबाट फिर्ता गरिने बताइएको छ।
यता, युरोपेली नेताहरूले पनि सामाजिक सञ्जाल एक्समार्फत जेलेन्स्कीप्रति ऐक्यबद्धता जनाएका छन्। फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक गणराज्य, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग र आयरल्याण्डले युक्रेनप्रति समर्थन जनाएका छन्।
जेलेन्स्कीले बेलायत र अन्य युरोपेली देशहरूको समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै युक्रेनको पक्षमा दृढतापूर्वक उभिएकोमा प्रधानमन्त्री स्टार्मरलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया दिनुहोस