१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ज्ञानेन्द्रको स्वागतमा योगीको फोटो, शाहीद्वारा आरोप

ज्ञानेन्द्र शाहीले उक्त प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७१
  • काठमाडौं, फागुन २६ - पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग गरिएपछि राजनीतिक रूपमा विवाद उत्पन्न भएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले उक्त प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएको दाबी गरेका छन्।

    'हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ,' शाहीले फेसबुकमा लेखेका छन्, 'नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरिएको छ, छि छि!'

    उनले विदेशीको एजेन्डा अनुसार पार्टी चलाउनेहरू नै अहिले राष्ट्रवादको ठुलो कुरा गरिरहेको भन्दै कटाक्षसमेत गरेका छन्। साथै, मार्क्स, लेनिन, माओ कुन देशका हुन् भन्ने प्रश्न गर्दै उनले नेपालका कम्युनिस्ट नेताहरू विदेशी विचारधारामा चलिरहेको संकेत गरेका छन्।

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न आइतबार विमानस्थलनजिकै आयोजित र्‍यालीमा आदित्यनाथको फोटो देखिएपछि यसको चौतर्फी चर्चा र आलोचना भइरहेको छ।