काठमाडौँ, फागुन २९ - होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना महिला समेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।
प्रहरीका अनुसार पकनाजोल क्षेत्रबाट दुई जना महिलालाई नियन्त्रणमा लिइएको छ। त्यस्तै, न्युरोड गेटबाट तीन जना, कोटेश्वर चोकबाट चार जना, सिंहदरबार पश्चिम गेटबाट दुई जना र बौद्ध क्षेत्रबाट एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले अन्य व्यक्तिहरूको इच्छा विपरीत लोला हान्ने, जबरजस्ती रङ दल्ने तथा अन्य अवाञ्छित गतिविधि गरेको आरोप लागेको छ। पक्राउ परेकाहरूको विषयमा आवश्यक अनुसन्धानपछि कसुरको प्रकृति हेरेर उनीहरूलाई कानुनी कारबाही गर्ने वा छाड्ने निर्णय गरिने एसपी बोहराले बताए।
प्रतिक्रिया दिनुहोस