काठमाडौं, फागुन २९ – काठमाडौं उपत्यकामा होलीको समयमा ट्राफिक नियम उल्लंघन तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने २५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्लाबाट प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो। ट्राफिक प्रहरीका अनुसार काठमाडौंमा १९५, ललितपुरमा १७, र भक्तपुरमा ४१ सवारी नियन्त्रणमा लिइएका छन्।
नियन्त्रणमा परेका सवारीमध्ये २३० वटा दुई पांग्रे र २३ वटा चार पांग्रे रहेका छन्। तीमध्ये ४९ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ भने ८ जनाले लागुपदार्थ सेवन (लापसे) गरेको प्रहरीले जनाएको छ। बाँकी सवारी चालकहरू विभिन्न ट्राफिक नियम उल्लंघन गरेको कारण नियन्त्रणमा लिइएको हो।
प्रहरीले होली पर्वलाई सुरक्षित बनाउन विशेष सुरक्षा योजना लागू गरेको थियो। उल्लंघन गर्नेहरूमाथि आवश्यक कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस