काठमाडौं — शिक्षक महासङ्घको आह्वानमा जारी राष्ट्रव्यापी शिक्षक आन्दोलनप्रति समाजवादी मोर्चा, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मोर्चाले शिक्षकमाथि भइरहेका बेवास्ता र उनीहरूले उठाएका न्यायोचित मागप्रति सरकारको ध्यान खिच्दै तत्काल सम्बोधन गर्न जोडदार अपील गरेको छ।
समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा शिक्षाको गुणस्तर विकास, शिक्षकको हक–अधिकार र सम्मानको विषयमा आन्दोलनले उठाएको मुद्दाप्रति मोर्चाले पूर्ण ऐक्यबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, "शिक्षकहरूले राखेका जायज मागहरू यथाशीघ्र पूरा गर्न, शिक्षा प्रणालीमा आमूल सुधार ल्याउन र संविधानले सुनिश्चित गरेको शिक्षाको हक कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दछौं।"
मोर्चाले विद्यालय शिक्षा ऐनलाई बिना ढिलाइ जारी गर्न, राष्ट्रिय सहमति जुटाउन र त्यसका लागि संसदको विशेष अधिवेशन तुरुन्त बोलाउन समेत सरकारसँग माग गरेको छ।
समाजवादी मोर्चाले शिक्षक आन्दोलनलाई शिक्षाको सुधार र समान पहुँच सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम भन्दै आम नागरिक र सरोकारवालाहरूको साथ र समर्थन रहनुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस