काठमाडौं, वैशाख २ – नेपाल विद्युत् प्राधिकरणले देशका केही स्थानहरूमा हालै देखिएको विद्युत् अवरुद्धको कारण लोडसेडिङ नभई प्रतिकूल मौसम र हावाहुरी भएको स्पष्ट पारेको छ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रि–मनसुनसहितको प्रतिकूल मौसम र हावाहुरीका कारण केही ठाउँमा विद्युत् आपूर्ति छोटो समयका लागि रोकिएको भए पनि यसलाई लोडसेडिङको रूपमा बुझ्नु भ्रामक र अतिरञ्जित हुने दाबी गरेको छ।
“देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले विद्युत् सेवा केहीबेर अवरुद्ध भएको हो। तर सामाजिक सञ्जालमा यसलाई लोडसेडिङ भनेर अतिरञ्जित र भ्रामक प्रचार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध भएका अधिकांश स्थानमा आपूर्ति पुनः सुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा वितरण केन्द्रमार्फत प्राविधिक टोलीहरू खटिएर समस्याको समाधानमा जुटिरहेका छन्।
यसैबीच, प्राधिकरणले नागरिकलाई अफवाहमा नपर्न आग्रह गर्दै मौसमको कारणले हुने अस्थायी अवरोधलाई लोडसेडिङसँग नजोड्न पनि आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस