काठमाडौं, वैशाख २६ - चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गर्दै पत्र काटेको थियो।
वातावरण प्रदूषण लगायतका आरोपमा आठवटा पत्र पठाएको महानगरको दाबी छ। तर निर्मल निवासले ती पत्र अस्वीकार गर्दै आएको छ भने राजावादी पक्षले पूर्वराजा आयोजक नै नभएको भन्दै पत्र काटिनु अन्यायपूर्ण भएको बताउँदै आएका छन्।
विदेशमा बसोबास गर्ने नेपालीहरुले नागरिकस्तरबाट उक्त जरिवाना तिर्ने भन्दै पूर्वराजाको नाममा चन्दा संकलन अभियान चलाएका थिए। पोर्चुगल निवासी रमेशराज बास्तोलालगायतको सक्रियतामा उठाइएको ८ लाख ३९ हजार ४०० रुपैयाँ बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई हस्तान्तरण गरिएको छ।
हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य सचिव अंगत प्रसाद देवकोटालगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो। तर सो रकम जरिवाना तिर्न प्रयोग गरिने कि नगर्ने भन्नेबारे समितिले अहिलेसम्म कुनै निर्णय गरेको छैन।
यसैबीच, राप्रपाका प्रवक्ता सगुन लावतीले पूर्वराजा सहभागी नभएको आन्दोलनमा जरिवाना तिराउने निर्णय उचित नभएको बताएका छन्। नवराज सुवेदीले भने उक्त रकम आफूले अभियानको लेटरहेडमार्फत लिखित रूपमा बुझेको पुष्टि गरेका छन्।
प्रतिक्रिया दिनुहोस