काठमाडौं, वैशाख २६ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको हालको अवस्था स्पष्ट पार्न श्वेतपत्र सार्वजनिक गरिएको बताएका छन्।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले श्वेतपत्रमार्फत प्राधिकरणको वास्तविक स्थिति बाहिर ल्याइएको दाबी गरे।
सञ्चारकर्मीको "विद्युत् प्राधिकरण घाटामा गएको हो?" भन्ने प्रश्नमा मन्त्री खड्काले सबै विवरण श्वेतपत्रमा समेटिएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गरे। साथै, उनले छिट्टै प्राधिकरणको पछिल्लो आर्थिक विवरण तथा सम्पत्ति–दायित्वको मूल्यांकन (डीडीए) गराउने जानकारी पनि दिए।
श्वेतपत्रप्रति संसद्मा उठेका विभिन्न धारणाबारे टिप्पणी गर्दै मन्त्री खड्काले सांसदहरू स्वतन्त्र रहेको र उनीहरूले आ–आफ्नो धारणा राख्न पाउने अधिकार रहेको बताए। साथै, उनले संसद्ले चाहेमा संसदीय समिति गठन गरेर छानबिन गर्न सकिने सुझाव पनि दिए।
त्यसैगरी, उनले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट पार्दै सरकार विद्युत् आपूर्तिलाई व्यवस्थित बनाउने दिशामा प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया दिनुहोस