१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षा मन्त्रालयले कोरियाका लागि एनओसी स्थगित गर्‍यो

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेको समस्या र गुनासोका आधारमा यस्तो निर्णय लिइएको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २०१
  • काठमाडौं, वैशाख २८ – सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई दिइने नो अब्जेक्सन लेटर (एनओसी) तत्कालका लागि स्थगित गरेको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि कोरियाका लागि एनओसी जारी नगर्ने निर्णय गरेको हो। मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालका अनुसार, कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेको समस्या र गुनासोका आधारमा यस्तो निर्णय लिइएको हो।

    विद्यार्थीहरूले शैक्षिक उद्देश्यका लागि कोरिया गएका भए पनि धेरैजसो काममा केन्द्रित हुने, अवैधानिक रूपमा रोजगारी खोज्ने, तथा कन्सल्टेन्सीहरूले गलत सूचना दिएर फसाउने गरेको भन्ने उजुरीहरू बढ्न थालेपछि परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली दूतावाससँग विद्यार्थीहरूको अवस्थाबारे स्पष्ट विवरण माग गरेको थियो।

    दूतावासले पठाएको विवरणअनुसार, डी–२ र डी–४ भिसामा जाने नेपाली विद्यार्थीहरू कोरियामा दिनहुँजसो समस्यामा पर्ने गरेका छन्। खासगरी भाषा अध्ययनका लागि जानुपर्ने डी–४ भिसाबाट प्रवेश गर्ने विद्यार्थीहरूले कन्सल्टेन्सीहरूको झुटा आश्वासनमा परेको र कोरिया पुगेपछि मानसिक तनावमा परेको उल्लेख छ।

    दूतावासका अनुसार, धेरैजसो विद्यार्थीहरूलाई “कोरिया पुगेपछि सजिलै काम पाउने” भनेर प्रलोभनमा पारी पठाइएको पाइएको छ। त्यसैगरी, कन्सल्टेन्सीहरूले अत्यधिक शुल्क लिने, एकै सेवाका लागि पटक–पटक पैसा उठाउने, तथा कोरियाका एजेन्टमार्फत कोठा खोजिदिने जस्ता बहानामा दोहोर्‍याएर लुट्ने गरेको समेत खुलासा भएको छ।

    यी सबै गम्भीर समस्याहरूको समीक्षा गर्दै शिक्षा मन्त्रालयले कोरियाका लागि एनओसी जारी प्रक्रिया तत्कालका लागि स्थगित गरेको जानकारी दिएको छ।