८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गिरुवारी खोलाको पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सवारी साधन वैकल्पिक बाटो हुँदै सञ्चालनमा

पुल भाँचिएपछि रोकिएका सवारी साधनहरू अहिले वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा ल्याइएको छ।



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ६४
  • नवलपरासी, वैशाख ३० - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएपछि सोमबार रातिदेखि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    पुल भाँचिएपछि रोकिएका सवारी साधनहरू अहिले वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

    पश्चिमतर्फ जान चाहने सवारीहरू चोरमारा बजार हुँदै दक्षिणतर्फ तम्सरिया गाउँ, खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोला राजमार्गमा प्रवेश गरिरहेका छन्। खोला सुक्खा भएकाले सवारी सञ्चालनमा खासै समस्या नभएको नेपालले बताए।

    पूर्वतर्फ जान चाहने सवारीहरू भने चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया हुँदै पुनः चोरमाराको राजमार्गमा फर्किन सक्ने व्यवस्था मिलाइएको छ।

    तर, ठूला लरीहरूका लागि उक्त वैकल्पिक बाटो उपयुक्त नपरेको र त्यस बाटोमा उनीहरूको सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। पुल पूर्ण रूपमा भत्किएकाले तत्काल मर्मत सम्भव नदेखिएको र सवारी आवतजावत पूर्ण रूपमा रोकिएको पनि प्रहरी नायब उपरीक्षक नेपालले स्पष्ट पारे।

    पुल भाँचिनुको कारण भने गए राति क्लिङकर बोकेको ट्रक पुल पार गर्ने क्रममा पुल भत्किएको बताइएको छ।