काठमाडौँ, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तलीले सुरु गरेको क्रिकेट मैदान अवश्य बन्ने र उनीहरूको दुःख कष्ट एक दिन हट्ने विश्वास व्यक्त गरेका छन्।
काभ्रेको बनेपामा निर्माण भइरहेको चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) को उद्घोष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पहिले गोरखाको पालुङटारमा सिने सिटी बनाउने चाहना राखेपनि कलाकारहरूलाई त्यसको महत्व बुझाउन नसकेको बताए।
"अत्यन्तै राम्रो स्थान पालुङटार हो भन्ने मेरो ठहर थियो," प्रधानमन्त्री ओलीले भने, "इनडोर र आउटडोर सुटिङ एकै ठाउँमा सम्भव हुन्थ्यो। रेल सुटिङका लागि पनि सजिलो हुन्थ्यो। तर कलाकारहरूलाई बुझाउन सकिनँ।"
उनले अहिले बनेपामा स्टुडियो निर्माण सुरु भइसकेको र त्यो काम सम्पन्न गर्नुपर्नेमा जोड दिए। "जहाँ सजिलो हुन्छ, त्यहीँ बनाइयो। जे भए पनि नयाँ काम थालिएको छ, त्यसलाई सफल बनाउनुपर्छ," उनले भने।
प्रधानमन्त्री ओलीले धुर्मुस–सुन्तलीले अत्यन्तै मेहनत गरेर क्रिकेट मैदानको काम थालेको र आफूले ‘त्यहाँ नथाल नानु, गाह्रो छ’ भनेपनि उनीहरूले नछाडेको बताए।
"बहुत दुःख गरेका छन्, माया लाग्छ। त्यो क्रिकेट मैदान पनि बन्नेछ र उनीहरूको दुःख पनि हट्नेछ," प्रधानमन्त्री ओलीले आश्वस्त पार्दै भने।
उनले बनेपामा निर्माणाधीन स्टुडियोले नेपाली सिने क्षेत्रलाई नयाँ युगमा लैजाने विश्वास समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस