काठमाडौं, जेठ २ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल राज्य निर्माणमा मुस्लिम समुदायको परापूर्वकालदेखि अहं भूमिका रहेको बताएका छन्। शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा मक्का मदिनातर्फ हज यात्रा गर्न लागेका हजयात्रीहरूलाई शुभकामना दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता बोकेको मुलुक भएको उल्लेख गर्दै मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको विशिष्ट योगदान रहेको बताए। उनले विविध जातजाति, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सबै समुदाय एकजुट भई राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।
"हजयात्राले आपसी भाइचारा, मित्रता र सद्भाव बढाउने कार्यमा ठुलो योगदान पुर्याउने विश्वासका साथ तपाईंहरूको सफल यात्राका लागि पुनः शुभकामना व्यक्त गर्दछु," राष्ट्रपतिले भने।
राष्ट्रपतिले पवित्र आस्था र विश्वाससहित हजमा जान लागेका हजयात्रीहरूको सुविधाका लागि आवश्यक सबै सेवा-सुविधा उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई आग्रहसमेत गरे। उनले हज कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न समयानुकूल नीति, नियम तथा प्रबन्ध मिलाउन सरोकारवालाको ध्यानाकर्षण गराए।
सो अवसरमा राष्ट्रपतिले हजयात्रीहरूलाई गम्छा र टोपी लगाई शुभकामना प्रदान गरेका थिए। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट यसरी पहिलोपटक हजयात्रीहरूलाई राष्ट्रपति निवासबाट बिदाइ गरिनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस