१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनप्रति शिक्षक महासंघ असन्तुष्ट

सुवेदीले महासंघसँग भएका सहमति र मागहरूलाई प्रतिवेदनले सम्बोधन नगरेको आरोप लगाए।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४७
  • काठमाडौं, ५ जेठ — नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघसँग भएका सहमति र मागहरूलाई प्रतिवेदनले सम्बोधन नगरेको आरोप लगाए।

    आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि महासंघले आफ्नो औपचारिक धारणा तय गर्न बैठक बोलाएको छ। अध्यक्ष सुवेदीका अनुसार प्रतिवेदनमा धेरैजसो सहमतिको पालना नभएको र केही बुँदामा घुमाउरो शर्तसहित उल्लेख गरिएको छ।

    गत चैत २० देखि महासंघले २९ दिन लामो सडक आन्दोलन गरेको थियो। १७ वैशाखमा सरकारले महासंघसँग सहमति गरेपछि आन्दोलन स्थगित गरिएको थियो। तर सहमतिअनुसार विधेयक नआएको भन्दै महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ।

    अध्यक्ष सुवेदीले प्रतिवेदनलाई शिक्षकविरोधी र प्रतिगामी भएको आरोप लगाउँदै अस्थायी, करार, राहत, सिकाइ अनुदान, प्राविधिक, विशेष शिक्षा लगायतका शिक्षकहरूको न्याय नपाएको उल्लेख गरे। साथै, सरुवा प्रणालीलाई "शिक्षकमारा" बताउँदै आवधिक बढुवाको व्यवस्था पनि व्यवहारिक नभएको बताए।

    वि.स. २०७५, २०७८ र २०८० मा भएका सहमतिहरूलाई बेवास्ता गरिएको भन्दै महासंघले रणनीतिक तयारी थालेको जनाएको छ। समितिमा प्रतिवेदनमाथि अझै छलफल बाँकी रहेकाले महासंघले आफ्ना माग पुनः दोहोर्‍याउने तयारी गरेको छ।