काठमाडौँ, जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितको विषयमा संसदमार्फत सरकारसँग गम्भीर प्रश्न उठाउँदै न्याय कहिले पाइन्छ भन्ने माग राखेकी छिन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले पीडितहरूलाई थप पीडा दिने राज्यको नीति प्रति गम्भीर आपत्ति जनाउँदै, तत्काल न्याय दिलाउन आग्रह गरिन्।
श्रेष्ठले गौरीबहादुर कार्कीको सुझाव र तेजबहादुर कार्की नेतृत्वको आयोगको कार्यविधिलाई कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुने बताइन्। तर राज्यको चलनचुलन पीडितलाई झनै आन्दोलनमा धकेल्ने, आयोगमाथि आयोग थप्ने, र साहु महाजनलाई जोगाउने दिशामा अघि बढिरहेको भन्दै उनले गम्भीर आपत्ति जनाइन्।
“मानिस थुन्नुपर्छ भन्नुभएको थियो, तर अहिले त पीडित थप पीडित भइरहेका छन्। यो कस्तो नीति हो?” भन्दै श्रेष्ठले सरकारलाई प्रश्न गरिन्।
उनले अघिल्लो आयोगलाई असहयोग गरेर असफल बनाइएको उल्लेख गर्दै अहिले फेरि अर्को आयोग गठन गरी काम चलाउने प्रतिवेदन तयार गर्न खोजिएको आरोप समेत लगाइन्। “सिंहदरबारमा पीडितले भेट्न जाँदा ‘नो इन्ट्री’ भनिएको अवस्था छ,” भन्दै श्रेष्ठले राज्यको संवेदनशीलता माथि प्रश्न उठाइन्।
सांसद श्रेष्ठले अन्त्यमा भनिन्, “मिटर ब्याज पीडितलाई न्याय दिनैपर्छ। उनीहरूमाथि राजनीति नगरियोस्।”
प्रतिक्रिया दिनुहोस