१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘हनी ट्र्याप’मार्फत ठगी गर्ने दुई महिला पक्राउ, सरकारी कर्मचारी बने शिकार

प्रहरी अनुसन्धान अनुसार आँचलले कफी खाने बहानामा सामाखुसीस्थित एक क्याफेमा बोलाएर पहिलोपटक भेट गरेकी थिइन्। केही



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४२
  • काठमाडौं, जेठ ९ - एक जना सरकारी कर्मचारीलाई 'हनी ट्र्याप'मा पारेर ठगी गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई हाल कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर घर भई हाँडीगाउँ बस्ने ३४ वर्षीया आँचल श्रेष्ठलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार पीडित सरकारी कर्मचारी एकल जीवन बिताइरहेका थिए। एक महिना अगाडि सामाजिक सञ्जालमार्फत आँचलको फ्रेन्ड रिक्वेस्ट आएको र त्यसपछि कुराकानी हुँदै उनीहरूबीच भेटघाटसम्मको सम्बन्ध विकसित भएको थियो।

    प्रहरी अनुसन्धान अनुसार आँचलले कफी खाने बहानामा सामाखुसीस्थित एक क्याफेमा बोलाएर पहिलोपटक भेट गरेकी थिइन्। केही दिनपछि फेरि मदिरा सेवन गर्ने बहानामा होटल बोलाएर पीडितलाई अत्यधिक मदिरा खुवाइएको र होश हराएपछि आपत्तिजनक अवस्थामा तस्बिर तथा भिडियो खिचिएको खुलेको छ।

    भोलिपल्ट होशमा आउँदा पीडित होटलको कोठामा एक्लै थिए भने आँचल सम्पर्कबिहीन भएकी थिइन्। एक सातापछि ममताले ती आपत्तिजनक तस्बिर तथा भिडियो पठाई बलात्कारको मुद्दा लगाउने धम्की दिँदै घरजग्गासहित रकम माग्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार आँचलसँग पीडितको सम्पर्क मिलाइदिने व्यक्ति पीडितकै चिनजानका साथी थिए। उनीहरू पनि योजनामा संलग्न भएको आशंका गरिएको छ।

    पीडितले पाँच लाख रुपैयाँको चेक दिएका थिए र बाँकी रकम पछि दिने सहमति भएको थियो। बुधबार चेक बुझाउने क्रममा प्रहरीको टोलीले ममता र आँचललाई पक्राउ गरेको हो।

    प्रहरीले उनीहरूसँग संलग्न अरू दुई जनाको खोजी गरिरहेको छ। साथै, उनीहरूले यसअघि पनि यस्तै घटना दोहोर्याएको हुनसक्ने भन्दै बैंक स्टेटमेन्ट लगायत अन्य प्रमाणहरू संकलन गरिरहेको छ।