काठमाडौँ, जेठ १४ - राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार हुने आन्दोलनमा कुनै पनि हिंसात्मक घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
बुधबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले आफूहरूले आयोजना गर्न लागेको आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने दाबी गरे। तर, प्रधानमन्त्रीले उत्तेजक भाषण दिँदै आन्दोलनलाई बदनाम गराउने र भिड जम्मा गराएर द्वन्द्व सिर्जना गर्न खोजेको आरोप पनि लगाए।
"प्रधानमन्त्रीको भाषणले वातावरण बिग्रिएको छ," शाहीले भने, "यदि कुनै अप्रिय घटना भयो भने त्यसको दोष हामी होइन, प्रधानमन्त्रीलाई जान्छ।"
उनले शान्तिबाटीकामा हुने कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न हुने बताए। साथै, आन्दोलनलाई सडक र सदन दुवैबाट निरन्तर अघि बढाइने जानकारी दिए।
शाहीले आफ्नो पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) हटाइएको विषयमा समेत टिप्पणी गर्दै सो बारे सरकारसँग प्रश्न गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस