काठमाडौँ, जेठ १६ — गणतन्त्र दिवसको पूर्वसन्ध्यामा प्रतिनिधि सभामा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन्।
सभामुख घिमिरेको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे संसद सचिवालयमा मुख्य सचेतक र प्रमुख सचेतकहरूबीच छलफल हुने छ। सोही दिन मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत डाकिएको छ।
हाल प्रतिनिधि सभामा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आरोप लगाउँदै लगातार अवरोध गरिरहेका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा र घटनाको छानबिनका लागि आयोग गठन नभएसम्म सदनको अन्य कार्य नचल्ने अडान लिएका छन्।
विपक्षले बजेट पेस गर्न दिन सकिने संकेत दिए पनि अन्य कार्यसूची अघि बढ्न नदिने अडानका कारण संसद अवरुद्ध भइरहेको छ। यसै सन्दर्भमा सभामुखले सहमति खोज्ने प्रयासस्वरूप दलहरूबीच संवाद गर्न बैठक आह्वान गरेका हुन्।
बजेट २०८२/०८३ माथि संसदमा छलफल सुरु गराउने उद्देश्यसहित बोलाइएको बैठकले समाधानको बाटो खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस