काठमाडौं, जेठ १६ - राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरूले १५ जेठदेखि सुरु गरेको अनिश्चितकालीन आन्दोलन आज दोस्रो दिनमा प्रवेश गरेको छ।
आज माइतीघर मण्डला र बबरमहल क्षेत्रमा राजावादीहरूले प्रदर्शन जारी राखेका छन्। आन्दोलन शान्तिपूर्ण तर सक्रिय रूपमा अघि बढिरहेको छ।
१५ जेठका दिन राजधानीका विभिन्न स्थानबाट र्याली निकाल्दै शान्तिबाटिका पुगेर सभामा परिणत भएको थियो। आन्दोलन संयुक्त जनआन्दोलन समिति–नवराज सुवेदी नेतृत्वमा सुरु गरिएको हो। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायत विभिन्न दल तथा समूहहरूको सहभागिता रहेको छ।
शुक्रबारको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका शीर्ष नेताहरू छाता ओढेर सहभागी भएका थिए।
केही दिनअघि राजधानीमा सञ्चारकर्मीसँगको संवादमा थापाले "छाता क्रान्तिबाटै राजतन्त्र पुनर्स्थापना गरिन्छ" भन्ने अभिव्यक्ति दिएका थिए।
उनले आन्दोलन घोषणापछि वर्षाको सन्दर्भ उठाउँदै जनसहभागिता कमजोर हुने भन्ने आशंकामा प्रतिक्रिया दिँदै भनेका थिए, “राजसंस्था फर्काउने यो अहिलेसम्मकै अनुकूल समय हो, छाता ओढेरै आन्दोलन गर्छौं र छाता क्रान्ति सफल बनाउँछौं।”
राजावादीहरूले आगामी दिनहरूमा आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस