काठमाडौं, १८ जेठ — देशको पश्चिमी तथा मध्य भूभागमा हाल पश्चिमी र स्थानीय वायूको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायूको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्य सफा वा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
यी प्रदेशहरूका केही स्थानहरूमा तथा अन्य भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी लगायतका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस