काठमाडौं, जेठ १८ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा भएको तोडफोड घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
विश्वविद्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गत १४ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले उपकुलपतिको सचिवालयमा तोडफोड गर्नुका साथै पदाधिकारी र कर्मचारीहरूलाई आक्रमण गर्न खोजेको जनाएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, उपकुलपति कार्यालयमा जबर्जस्ती प्रवेश गरी तोडफोड गर्ने, पदाधिकारी तथा कर्मचारीलाई शारीरिक आक्रमण गर्न खोज्ने, फोनमार्फत धम्की दिने र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्नेजस्ता कार्यमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको छ।
त्रिविले सार्वजनिक सम्पत्तिमा भएको क्षति सम्बन्धमा पनि क्षतिपूर्ति भराउने कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। विश्वविद्यालय प्रशासनले घटनामा संलग्नलाई पहिचान गरी कारबाही गर्ने तयारी थालेको हो।
यस घटनाले शैक्षिक संस्थामा बढ्दो राजनीतिक हस्तक्षेप र हिंसात्मक गतिविधिप्रति गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया दिनुहोस