काठमाडौं, जेठ २० - सार्वजनिक यातायात सञ्चालनमा अवरोध पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मंगलबार पनि नि:शुल्क बस सेवा सञ्चालन गरेका छन्।
यातायात व्यवसायीहरूको चलिरहेको आन्दोलनका कारण यात्रुहरू मारमा परेपछि सोमबारदेखि सुरु गरिएको उक्त सेवा मंगलबार पनि निरन्तरता दिइएको हो।
नेपाल प्रहरीले दुई वटा र सशस्त्र प्रहरीले पनि दुई वटा बस छुट्टाछुट्टै रूटमा सञ्चालन गरेका छन्।
नेपाल प्रहरीले सञ्चालन गरेको पहिलो रूट नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै पुनः नक्साल फर्कने छ।
दोस्रो रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, त्रिभुवन विमानस्थल, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक पुगेर फर्किने तथा चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्ने व्यवस्था गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालले एक बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन गरेको छ। अर्को बस भने स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।
यसैबीच, सरकारले गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्ने सहमति गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने बताएका छन्।
सोमबार अबेर रातिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा सरकार र व्यवसायीबीच ६ बुँदे सहमति जुटेको हो।
तर गण्डकी प्रदेश सरकारले सहमति कार्यान्वयनमा देखाउने तयारी अनुसार आन्दोलनको औपचारिक अन्त्य हुनेछ। यात्रीलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको नि:शुल्क सेवा आवश्यकतानुसार थप दिन पनि सञ्चालन गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस