१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने रुपन्देहीबाट सरुवा भई डिल्लीबजार कारागार आउँदै

लामिछानेलाई रुपन्देहीबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा गरिने प्रक्रिया अघि बढाइएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९३
  • काठमाडौं, जेठ २० – सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा गरिने प्रक्रिया अघि बढाइएको छ।

    लामिछाने हाल रुपन्देहीको जिल्ला कारागारमा थुनामा छन्। सर्वोच्च अदालतको आदेशपछि थुनाको अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने इच्छा व्यक्त गरेका थिए। यसपछि कारागार प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको हो।

    जिल्ला अदालत, रुपन्देहीबाट अनुमति लिएपछि अब कारागार व्यवस्थापन विभागबाट अन्तिम निर्णय भएपछि उनलाई डिल्लीबजार कारागार पठाइने तयारी छ। कारागार प्रशासन स्रोतका अनुसार लामिछानेलाई गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे रहेको 'ख' ब्लकमा राख्ने तयारी गरिएको छ।

    यसअघि पनि डिल्लीबजार कारागारमा पूर्वमन्त्री खुमबहादुर खड्का, बालकृष्ण ढुंगेल, गणेश लामा, श्यामसुन्दर गुप्ता लगायत थुप्रै चर्चित नेताहरूले कैद जीवन बिताइसकेका छन्।

    डिल्लीबजार कारागार राजधानीको केन्द्रमा रहेको, भेटघाट र सुविधाको दृष्टिले सहज मानिने स्थान भएकाले भीआईपीहरूका लागि रोजाइको कारागारको रूपमा परिचित छ। त्यहाँ थोरै कैदीबन्दी हुँदा भेटघाट, टेलिफोन सुविधा, क्यान्टिनमार्फत चिया–नास्ता, टेबलटेनिस खेल्ने जस्ता सुविधाहरू उपलब्ध छन्।

    कारागार प्रशासनले लामिछानेलाई सरुवा गर्न पाउने अधिकार कानुनी रूपमा रहेको बताउँदै सुरक्षा र व्यवस्थापन पक्षलाई ध्यानमा राखेर अन्तिम निर्णय लिइने जनाएको छ। गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको सहकार्यमा सरुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।

    लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीमा ठगी र संगठित अपराधको आरोपमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश सर्वोच्च अदालतले बदर गरेपछि उनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको थियो।

    अब डिल्लीबजार कारागारमा स्थानान्तरण भएपछि रवि लामिछानेको कैदी जीवन काठमाडौंमै बित्ने देखिएको छ।