६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एनओसी स्थगनविरुद्ध विद्यार्थीको विरोध : 'हाम्रो बाटो नछेक, शिक्षा हाम्रो अधिकार हो'

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २८ वैशाखमा कोरियाको लागि डी–२ र डी–४ भिसाका एनओसी नदिने निर्णय गरेको थियो।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०३
  • काठमाडौं, जेठ २३ - दक्षिण कोरियाको डी–२ र डी–४ भिसाका लागि आवश्यक अध्ययन अनुमति पत्र (एनओसी) स्थगनको निर्णयविरुद्ध विद्यार्थीहरूले शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा विरोध प्रदर्शन गरेका छन्।

    "हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो। शिक्षा हाम्रो अधिकार हो," भन्ने नारा लगाउँदै विद्यार्थीहरूले सरकारले रोकिएको एनओसी तत्काल खोल्न माग गरेका हुन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २८ वैशाखमा कोरियाको लागि डी–२ र डी–४ भिसाका एनओसी नदिने निर्णय गरेको थियो। मन्त्रालयका अनुसार केही विद्यार्थीहरूले आवेदन दिएका विश्वविद्यालयहरू कोरियाले कालोसूचीमा राखेकाले यस्तो निर्णय लिइएको हो।

    यसपछि केही विद्यार्थी सर्वोच्च अदालत गएका थिए। अदालतले निवेदकको हकमा मात्र एनओसी दिन भनेपछि आठ जना विद्यार्थीलाई अनुमति दिइएको छ भने अन्य सबैको प्रक्रिया यथावत स्थगित गरिएको एनओसी शाखाले जनाएको छ।

    एनओसी शाखाका प्रमुख उत्तम आचार्यले भने, "विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। तर हामीले अदालतको निर्देशनअनुसार मात्र काम गर्न सक्छौं।"

    सरकारले स्थिति मूल्याङ्कन गर्न उच्च शिक्षा महाशाखाका बैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिको प्रतिवेदनपछि मात्रै एनओसी खोल्ने वा अन्य निर्णय गरिने मन्त्रालयले जनाएको छ।

    एकातिर विद्यार्थी र कन्सल्टेन्सीहरू एनओसी तत्काल खोल्न दबाब दिइरहेका छन् भने अर्कोतर्फ सरकार अध्ययन अनुसन्धानपछि मात्र निर्णय लिने अडानमा छ।