विराटनगर, जेठ २३ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतप्रति विश्वास गर्न सबैलाई आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उक्त विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अदालतको प्रक्रियामाथि शंका नगर्नुपर्ने बताए। उनले भने, “अख्तियारले अनुसन्धान गरेर अदालतमा अभियोजन दर्ता गरेको छ। अब अदालतलाई विश्वास गरौं। निर्दोषमाथि अन्याय हुँदैन, दोषीलाई सजाय हुनेछ।”
थापाले अदालतमा पुगेको मुद्दाबारे थप टिप्पणी गर्नु उपयुक्त नहुने उल्लेख गर्दै अदालतले नै सो विवादको निरुपण गर्ने बताए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागबारे प्रतिक्रिया दिँदै थापाले यस्तो विषय अहिले उठाउनु नपर्ने बताए। उनले उक्त प्रकरणको अनुसन्धान अख्तियारमार्फत अघि बढिरहेको जनाउँदै आयोगलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिनुपर्ने बताए।
“अनुसन्धान चलिरहेकै छ, त्यसलाई प्रभावित पार्न हुँदैन। अनुसन्धान टुंगिएपछि सत्य–तथ्य सार्वजनिक हुनेछ,” उनले भने, “त्यसपछि संसदबाट आवश्यक निर्णय गरौंला।”
सरकार अपेक्षित गतिमा अगाडि नबढेको स्वीकार गर्दै थापाले सुधारका लागि नेपाली कांग्रेसभित्र गम्भीर छलफल भइरहेको जानकारी दिए।
“हाम्रो सभापतिले नै भन्नुभएको छ, सरकारले चाहिएको परिणाम दिन सकेको छैन,” उनले भने, “नेतृत्व तहमा बसेर केही दिनदेखि निरन्तर छलफल भइरहेको छ। सरकारलाई प्रभावकारी बनाउने दिशामा हामी लागेका छौं।”
उनले सरकारलाई सबल र परिणाममुखी बनाउने उद्देश्यका साथ पार्टीभित्र सुधार प्रक्रिया अघि बढिरहेको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस