१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अराजकताका लागि अनेरास्ववियुमा छुट छैन : प्रधानमन्त्री ओली

ओलीले अनेरास्ववियुभित्र तोडफोड, आगजनी, कुटपिटजस्ता गतिविधि सह्य नहुने स्पष्ट पारे।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८५
  • काठमाडौं, जेठ २५ - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियु (पार्टीनिकट विद्यार्थी संगठन)लाई अराजकता होइन, जिम्मेवार, भद्र र परिवर्तनकारी संगठनका रूपमा अघि बढ्न निर्देशन दिएका छन्।

    आइतबार त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेरास्ववियुभित्र तोडफोड, आगजनी, कुटपिटजस्ता गतिविधि सह्य नहुने स्पष्ट पारे।

    “विद्यार्थीका नाममा उपकुलपतिको कार्यकक्ष तोडफोड गर्ने, लाइब्रेरी जलाउने, शिक्षकमाथि कुटपिट गर्नेजस्ता क्रियाकलाप अनेरास्ववियुबाट हुन सक्दैन,” प्रधानमन्त्री ओलीले भने, “यस्ता अराजक र हिंसात्मक गतिविधिका लागि संगठनभित्र कुनै छुट छैन। अब यस्तो नदोहोरियोस्।”

    प्रधानमन्त्री ओलीले अनेरास्ववियुलाई भद्र, अनुशासित र क्रान्तिकारी संगठनको रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले विद्यार्थी संगठनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे।

    ओलीले विद्यार्थीका अभिभावकहरूप्रति समेत अपील गर्दै भने, “तपाईंहरूले आफ्ना छोराछोरीलाई अनेरास्ववियुमा पठाउनुहोस्, तर गुण्डा बनाएर होइन। हामी उनीहरूलाई शिक्षा र अनुशासन दिन्छौं। त्यसैले हामीले यस्ता गतिविधिलाई छुट दिनेछैनौं।”

    प्रधानमन्त्री ओलीले अनेरास्ववियुको आचरण र व्यवहार समाजमा उदाहरणीय हुनुपर्ने उल्लेख गरे।

    “बसमा यात्रा गर्दा यात्रुले भन्न सकून् — नानी अनेरास्ववियु हो भनेर। कार्ड देखाउँदा बेइज्जत होइन, सम्मान होस्,” उनले भने।

    उनले अनेरास्ववियुजस्ता विद्यार्थी संगठनहरूले जिम्मेवार, सभ्य र समाज परिवर्तन गर्ने क्रान्तिकारी विचार बोकेको संगठनका रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।