काठमाडौं, जेठ २७ - यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा १५ दिन अगावै प्रवेश गरे तापनि, हालसम्म कोशी प्रदेशभन्दा पश्चिमतर्फ फैलिन सकेको छैन। जेठ १६ गतेदेखि सुरु भएको मनसुन हालसम्म सक्रिय हुन नसक्दा देशभर गर्मी बढेको छ।
किन निष्क्रिय रह्यो मनसुन?
नेपालमा मनसुनी वायु बंगालको खाडीबाट आउँछ। तर यसपटक पूर्वी एसियातिर बनेको न्यून चापीय प्रणालीले बंगालको खाडीको वायुलाई सोही दिशातिर तानेपछि नेपालतर्फ मोडिन सकेन। मौसमविद गोविन्द झाका अनुसार, फिलिपिन्स र ताइवानतिर बनेको न्यून चापीय प्रणालीको असरले नेपालतर्फ आउने हावा त्यसैतिर खिचिएको हो।
पश्चिमी वायुले मनसुन रोकेको
जल तथा मौसम विज्ञान विभागको अनुसार, हाल पश्चिम र मध्य नेपालमा अझै पनि पश्चिमी वायुको प्रभाव बलियो छ। यसले गर्दा मनसुनी वायुले देशभर प्रभाव जमाउन सकेको छैन। स्थानीय वायु र पश्चिमी प्रणालीको कारण केही स्थानमा सामान्य वर्षा भए पनि, व्यापक मनसुनी झरी भने अझै सुरु हुन सकेको छैन।
अब कहिले पर्छ पानी?
मौसमविदहरुका अनुसार अबको केही दिनभित्र मनसुन सक्रिय हुने सम्भावना छ। बंगालको खाडीमा पुनः न्यून चापीय प्रणाली विकास भइरहेको र भारतको मध्य भागमा समेत अर्को प्रणाली देखिएकोले वर्षाको सम्भावना बढेको बताइएको छ।
झाका अनुसार, अब मनसुनी वायुको केही हिस्सा नेपालतर्फ फर्किन थालेको छ र पश्चिमी वायुसँग मिलेर देशका विभिन्न भागमा वर्षा गराउने सम्भावना छ। "भोलिदेखि नै यसको प्रभाव देखिन थाल्नेछ," उनले भने।
आज बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बादल देखिन थालेको र सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा भइरहेको जानकारी दिइएको छ। केही स्थानमा हल्कादेखि मध्यम तथा एक–दुई ठाउँमा भारी वर्षा समेत भइरहेको छ।
मनसुनको औपचारिक अवधि
नेपालमा मनसुन सामान्यतया जुन १३ तारिख (जेठ अन्तिम) देखि सुरु भई अक्टोबर २ तारिखसम्म रहन्छ। यस अवधिमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ।
तर हालका वर्षहरूमा मनसुन औसत मितिभन्दा अघि भित्रिने र ढिला बाहिरिने प्रवृत्ति देखिएको छ। गत वर्ष जेठ २८ गते मनसुन भित्रिएको थियो भने अघिल्लो वर्ष जेठ ३१ गते।
यो वर्षको पूर्वानुमान
विभागले यस वर्ष वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ। जलवायु परिवर्तनको प्रभावसँगै हिमाली जिल्लाहरूमा समेत औसतभन्दा बढी वर्षा हुने संकेत देखिएको र यसले बाढी, पहिरो, डुबानजस्ता जोखिम बढाउने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।
अबको केही दिनमा बेलाबेलामा वर्षा हुने र गर्मीबाट राहत मिल्ने अनुमान गरिएको छ, तर सतर्कता भने जरुरी रहनेछ।
प्रतिक्रिया दिनुहोस