२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भेरी नदीमा बगेका तीनै बालबालिकाको मृत्यु, आशाको शव तीन दिनपछि फेला

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका जाजरकोट र रुकुम पश्चिमका तीन बालबालिकाको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १७३
  • सुर्खेत, जेठ २७ - भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका जाजरकोट र रुकुम पश्चिमका तीन बालबालिकाको मृत्यु भएको छ। तीनै जना बालबालिकाको शव फेला परेपछि घटना पुष्टि भएको हो।

    गत शुक्रबार दिउँसो नुहाउन भन्दै भेरी नदी गएका जाजरकोट नलगाड नगरपालिका–८ मन्मैका तीन बालबालिका नदीमा बगेका थिए। बगेकाहरूमा टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली, सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारी र १२ वर्षीया छोरी आशा कुसारी रहेका थिए।

    बगेका मध्ये भगवती र महेशको शव शुक्रबार नै फेला परेको थियो भने आशा कुसारीको शव भने बेपत्ता रहेको थियो। उनको शव पनि तीन दिनपछि सोमबार बेलुकी ६ बजे नलगाड नगरपालिका–७, चापाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

    शुक्रबार दिउँसो स्कुलबाट फर्किएपछि उनीहरू नुहाउन नदी गएका थिए। पहिले महेश बग्दा उनलाई बचाउन भगवती र आशा पनि भेरीमा पसेका थिए। तर, दुर्भाग्यवश तीनै जना बगेर ज्यान गुमाएका हुन्।

    घटनाबारे जानकारी पाउनासाथ रुकुम पश्चिमको आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको टोली उद्धारमा खटिएको थियो। प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा फेला पारेर अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। महेशको शव घटनास्थलबाट करिब ९ सय मिटर दक्षिणमा फेला परेको थियो।

    उक्त घटना जाजरकोटको नलगाड नगरपालिका–८ को मन्मै र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडी बजारको सिमाना क्षेत्रमा भएको थियो। मृतक तीनै बालबालिका मन्मैकै स्थानीय थिए र सधैंजसो नदीमा पौडी खेल्न जाने गर्दथे।

    शोकसन्तप्त परिवार तथा गाउँमा घटना पछि शोकको वातावरण छ। स्थानीयवासीले भविष्यमा यस्ता दुर्घटना नदोहोरिउन भन्नेसहित सतर्कता अपनाउन आग्रह गरेका छन्।