१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसद् अवरोध अन्त्य गर्न माओवादी केन्द्र सकारात्मक

नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा अवरोध अन्त्य गर्न सकारात्मक देखिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४४
  • काठमाडौं, जेठ २९ — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा अवरोध अन्त्य गर्न सकारात्मक देखिएको छ।

    भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि अवरुद्ध रहेको संसद् सुचारु गर्न सभामुख देवराज घिमिरेसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार भेट गरेका थिए।

    सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार, प्रचण्डले संसद् सञ्चालनका लागि सहमति जुटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। ‘उहाँले प्रतिपक्षी दलहरूको बैठकमा सहमतिको भाषाबारे छलफल गरेर त्यसपछि सत्तापक्षसँग मिलेर सहमति गर्ने बताउनुभयो,’ अधिकारीले जानकारी दिए।

    सभामुख घिमिरेले भेटमा बजेटमाथिको सैद्धान्तिक छलफलका लागि निर्धारण गरिएको कार्यतालिका प्रभावित भएको उल्लेख गर्दै निजामती तथा नागरिकता विधेयकमाथि दफावार छलफल अत्यावश्यक रहेको बताए। उनले गतिरोध अन्त्य गर्न सबै पक्षबीच सहमति आवश्यक रहेको बताए।

    उक्त छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए।

    संसद् बैठकमा अवरोध प्रतिपक्षी दलहरूले अध्यागमन कार्यालयमा भएको भनिएको सेटिङ प्रकरणका कारण गरिरहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका हुन्।

    उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग गरिरहेका छन्। तर, सत्तारूढ दलहरूले गृहमन्त्री अख्तियारको छानबिनको दायरामा नरहेको जनाउँदै राजीनामाको माग अस्वीकार गरेका छन्। साथै, अख्तियारले छानबिन गरिरहेको विषयमा समानान्तर समिति आवश्यक नपर्ने भनाइ समेत दोहोर्‍याउँदै आएका छन्।