काठमाडौं, असार ४ – मेलम्ची खानेपानी आयोजनामार्फत सिन्धुपाल्चोकको मेलम्चीस्थित रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौंमा ल्याएर वितरण सुरु गरिएको छ।
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमितरूपमा आपूर्ति गर्न रिबर्मा खोलाको पानी प्रयोग गर्दै वितरण कार्य अगाडि बढाइएको हो। यसका लागि मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको विशेष ट्याङ्कीको परीक्षण सोमबार खानेपानी मन्त्री प्रदीप यादवसहितको टोलीले सफलतापूर्वक सम्पन्न गरेको थियो।
परीक्षण सफल भएपछि सोमबार राति सुरुङ मार्ग हुँदै रिबर्माबाट आठ करोड लिटर पानी काठमाडौं ल्याइएको र मंगलबारदेखि नियमित वितरण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए।
उनका अनुसार मेलम्ची आयोजनाको हेडवर्क्स नबन्दासम्म अस्थायी रुपमा रिबर्मा खोलाको पानी मिसाएर वितरण सुरु गरिएको हो। "गत वर्ष बर्खामा पानी फोहोर हुने वा नहुने अध्ययन गरिएको थियो, रिबर्मा खोलाको पानी उपयुक्त देखिएपछि यस वर्ष पुनः वितरण थालिएको हो," लामिछानेले बताए।
हाल काठमाडौं उपत्यकामा दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको छ भने वर्षातको समयमा रिबर्मा र बागमती खोलाबाट क्रमशः पाँचदेखि सात करोड लिटर पानी थपिने योजना रहेको छ। मेलम्ची खानेपानी विकास समितिले यो वर्ष काठमाडौंमा दशदेखि १४ करोड लिटर अतिरिक्त पानी आपूर्ति गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस