३१ जेठ २०८३ आईतबार | 14 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारतीय कडाइको मार: चिया बेच्न नपाउँदा उद्योग बन्द गर्ने तयारी



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २८
  • इलाम, जेठ ३१ - नेपाली अर्थोडक्स चिया निर्यातमा देखिएको अवरोधका कारण इलामका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्।

    भारतीय बजारमा चिया निर्यात हुन नसकेपछि सूर्योदय नगरपालिकाका ५३ वटा उद्योगले असार १ गतेदेखि उत्पादन बन्द गर्ने निर्णय गरेका छन्।

    निर्यातका लागि पठाइएको चिया लामो समयदेखि गोदाममा थन्किँदा उद्योगीहरू आर्थिक संकटमा परेका छन्। उद्योगीहरूका अनुसार कोलकातास्थित गोदाममा मात्रै २ लाख किलोभन्दा बढी तयारी चिया रोकिएको छ भने नेपालभित्रका उद्योगहरूमा थप १० लाख किलोभन्दा बढी चिया भण्डारण गरिएको छ।

    चिया उद्योग बन्द गर्ने निर्णयले हजारौं किसान प्रत्यक्ष प्रभावित हुने भएका छन्। सूर्योदय नगरपालिकामा करिब तीन हजार किसान चिया खेतीमा निर्भर छन्। उद्योग सञ्चालन रोकिएपछि किसानले उत्पादन गरेको हरियो पत्ती बिक्री नहुने र बगानमै खेर जाने जोखिम बढेको छ।

    सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले तयार चिया बिक्री नभएका कारण किसानलाई भुक्तानी गर्न नसकिएको जनाएको छ। उद्योगीहरूका अनुसार निरन्तर उत्पादन भइरहे पनि बजारमा चिया पठाउन नसक्दा भण्डारण क्षमता सकिन थालेको छ।

    समस्या भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण व्यवस्थापछि चर्किएको हो। पहिले प्रत्येक गाडीको नमुना परीक्षण गरिन्थ्यो भने अहिले प्रत्येक बोराको परीक्षण अनिवार्य गरिएको छ। यसले निर्यात प्रक्रिया ढिलो र खर्चिलो बनेको उद्योगीहरूको भनाइ छ।

    उद्योगीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्। तर हालसम्म प्रभावकारी समाधान ननिस्किँदा उद्योग बन्द गर्नुपर्ने बाध्यता आएको उनीहरूको दाबी छ।

    नेपालको अर्थोडक्स चिया निर्यातको प्रमुख बजार भारत हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया विदेश निर्यात हुने गरेको छ, जसमध्ये अधिकांश हिस्सा भारतीय बजारमा खपत हुन्छ।

    त्यसैले भारतीय पक्षको कडाइले नेपालको चिया उद्योग र किसान दुवैलाई गम्भीर असर पार्ने देखिएको छ।