काठमाडौं, असार ५ - सुनचाँदी व्यवसायीहरूले आफ्ना मागहरू तत्काल पूरा नभए पनि हालका लागि आन्दोलन स्थगित गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले बुधबार आन्दोलन रोक्ने निर्णय गरेको हो।
भेलापछि महासंघले काठमाडौं उपत्यका र बागमती प्रदेशका बन्द गरिएका सुनचाँदी पसलहरू बिहीबारदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ। केही दिनयता व्यवसायीहरू सरकारले गरेको करका विरुद्ध आन्दोलनमा उत्रिएका थिए।
व्यवसायीहरूले सरकारसँग असार मसान्तसम्मको समय सीमा तोकेर अल्टिमेटम दिएका छन्। उनीहरूले सुनमा लागिरहेको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य रत्नमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन्। साथै, सुनको भन्सार दर नेपाल र भारतमा समान हुनुपर्ने माग पनि राखिएको छ।
महासंघले तोकिएको म्यादभित्र माग सम्बोधन नभए संयुक्त संघर्ष समिति गठन गरी सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। व्यवसायीहरूको भनाइअनुसार वर्तमान कर संरचनाले व्यवसाय धराशायी हुने खतरा बढेको छ।
प्रतिक्रिया दिनुहोस