२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही

“यो विषयमा निष्पक्ष छानबिन आवश्यक छ। हामी छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्छौं,” शाहीले स्पष्ट पारे।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ९५
  • काठमाडौं, असार ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा संलग्न भनिएका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि हालका गृहमन्त्री रमेश लेखकसम्मका सबै १४ गृहमन्त्रीलाई अनुसन्धान गर्नुपर्ने प्रस्ताव राखे।

    उनले भिजिट भिसा प्रकरण कुनै एक दलको मात्र नभई सबै दलका लागि साझा चिन्ताको विषय भएको भन्दै यसमा सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आग्रह गरे। “यो विषयमा निष्पक्ष छानबिन आवश्यक छ। हामी छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्छौं,” शाहीले स्पष्ट पारे।

    शाहीले सरकारलाई सदन चलाउने नाममा विपक्षी दलको आवाज दबाउन नचाहन आग्रह पनि गरे। उनले भने, “हामी विरोधको अधिकार प्रयोग गरिरहेका छौं। तर, त्यसको बाबजुद जबरजस्ती सदन चलाउन सभामुखलाई बाध्य नगरियोस्।”

    बिहीबारको संसद् बैठकमा भिजिट भिसा प्रकरणबारे सत्ता र प्रतिपक्षबीच ठूला मतभेद देखिएको छ। बैठकमा कार्यसूची अघि बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले विरोधस्वरूप सभामुखको घेराउ गरेका थिए। राप्रपाका सांसदहरूले भने बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएका थिए।

    भिजिट भिसा प्रकरणमा सार्वजनिक चासो बढिरहेकै बेला राप्रपाको यस्तो मागले बहसलाई थप तातो बनाएको छ।