काठमाडौं, असार ९ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग आइतबार खुमलटारस्थित निवासमा भएको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकसँग भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासोप्रति चिन्ता व्यक्त गरे।
भेटका क्रममा महासंघका प्रतिनिधिहरूले शिक्षकसँग भएका सहमति कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै गुनासो गरे। उनीहरूले सहमति कार्यान्वयनका लागि विपक्षी दलहरूको सहयोगको अपेक्षा पनि व्यक्त गरे।
प्रतिउत्तरमा अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै भने, “हामीले संसद अवरोध हटाउने निर्णय पनि सरकारले ‘शिक्षकका माग पूरा भएनन्’ भन्ने बहाना नबनाओस् भनेर गरेका हौं।”
उनले शिक्षकका जायज मागहरू कुनै सर्तबिना पूरा हुनुपर्ने धारणा व्यक्त गरे। साथै, प्रारम्भिक बाल विकास कक्षालाई विद्यालयको संरचनाभित्र समेट्नुपर्ने आवश्यकता रहेको समेत प्रचण्डले बताए।
उनको सचिवालयका अनुसार, विद्यालय शिक्षा सुधारमा कुनै ढिलाइ नगर्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस