काठमाडौं, असार ११ - विदेश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये एक जना दोलखा बैतेश्वर गाउँपालिका–३ की ३१ वर्षीया नविना दाहाल घिमिरे हुन्, जो हाल काठमाडौं तार्केश्वर नगरपालिकामा बस्दै आएकी थिइन्। उनले ‘युके पठाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिबाट ५२ लाख रुपैयाँ असुलेको उजुरी परेपछि पक्राउ गरिएको हो।
उनका विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।
यस्तै, सर्लाही कौडेना गाउँपालिका–४ घर भई हाल कागेश्वरी मनोहरा बस्दै आएका लछुमन साह तेलीले पनि तीन जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस