२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेठ १५ देखि असार १६ सम्म ६७४ मनसुनजन्य विपद्, ३१ जनाको मृत्यु, २६ करोडको क्षति



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ७७
  • काठमाडौँ, असार १७ - देशभर गत जेठ १५ गतेदेखि असार १६ गतेसम्मको अवधिमा ६७४ वटा मनसुनजन्य विपद्का घटनाहरू घटेका छन् ।

    ती घटनाहरूमा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । यस्तै, विपद्‌बाट करिब २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार उक्त अवधिमा मात्र ८७ वटा पहिरोका घटनाहरू भएका छन् । ती घटनामा २५ घर आंशिक रूपमा र ११ घर पूर्ण रूपमा क्षति भएका छन् । यस्तै, पहिरोका कारण एउटा पुल, सातवटा गोठ र १४ वटा चौपाया पनि नष्ट भएका छन् । पहिरोबाट मात्रै २ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

    त्यस्तै, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको छ भने चारै जना घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने चारवटा घरमा क्षति पुगेको छ ।

    यसैगरी, चट्याङका ८२ घटनामा आठ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन् ।

    मनसुन सुरु भएसँगै देशभर जलवायुजन्य विपद् बढिरहेको अवस्थामा प्राधिकरणले सतर्कता अपनाउन सबैमा आग्रहसमेत गरेको छ ।