१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब विवाह गरे १५ हजार, तेस्रो सन्तान जन्माए ५० हजार पुरस्कार

मादी गाउँपालिकाले २० वर्ष पूरा भएपछि विवाह गर्ने दलित समुदायका महिलालाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ नगद प्रदान गर्नेछ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २६६
  • पोखरा, असार १७ – कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।

    गाउँपालिकाले मंगलबार गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विवाह र जनसङ्ख्या वृद्धिमा लक्षित नगद प्रोत्साहन घोषणा गरेको हो।

    गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले प्रस्तुत गरेका कार्यक्रमअनुसार २० वर्ष पूरा भएपछि विवाह गर्ने दलित समुदायका महिलालाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। यो कार्यक्रम बालविवाह रोक्न र २० वर्षपछि मात्रै विवाह गर्न उत्प्रेरित गर्न ल्याइएको हो।

    अध्यक्ष गुरुङले मादी गाउँपालिकामा बालविवाहको समस्या गम्भीर रहेको भन्दै दलित समुदायमा विशेष प्रभाव परेको बताए। “एउटा अध्ययन गर्दा बालविवाह गहिरो समस्या देखिएको छ, त्यसमाथि दलित समुदायमा यो समस्या झन् बढी छ,” उनले भने।

    बालविवाह, जबर्जस्ती विवाह र घातक रुढी परम्परा अन्त्य गर्न पालिकाले अभिभावक शिक्षादेखि विद्यालयस्तरमा किशोर-किशोरी लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ।

    त्यस्तै, जनसङ्ख्याको ऋणात्मक वृद्धिदर रोक्न र जन्मदर वृद्धि गर्न पालिकाले तेस्रो सन्तान जन्माउने दम्पतीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको छ। नवजात शिशुको नाममा बैंक खाता खोलेर उक्त रकम जम्मा गरिनेछ। शिशु बालिग भएपछि मात्र सो रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ।

    तर, यो सुविधा लिनका लागि दम्पती मादी गाउँपालिकाका ‘शुद्ध नागरिक’ हुनुपर्नेछ। अर्थात्, उनीहरूले पालिकाभित्रै स्थायी बसोबास गरेको हुनुपर्छ, अन्यत्र स्थायी वा दीर्घकालीन अस्थायी बसोबास नगरेको प्रमाणित हुनुपर्छ। साथसाथै, वडा सचिव र वडाध्यक्षको सिफारिस आवश्यक हुनेछ।

    गाउँपालिकाको यो नीति सामाजिक समस्या समाधानसँगै जनसङ्ख्या व्यवस्थापनमा टेवा पुग्ने आशा गरिएको छ।