१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई मीनबहादुर गुरुङले एमबीबीएससम्म पढाउने

इँटाभट्टामा बस्दै आएकी श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३१०
  • काठमाडौं, असार १९ - एसईई परीक्षा 2081 मा ४.० जीपीए ल्याएर उत्कृष्ट प्रदर्शन गरेकी गोमा श्रेष्ठको सपना अब पूरा हुने भएको छ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा बस्दै आएकी श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

    आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिबाट आएकी गोमा सानैदेखि बाबुआमासँगै इँटाभट्टामा हुर्किएकी हुन्। उनले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएकी थिइन्।

    शुक्रबार सार्वजनिक भएको नतिजामा उनले चार जीपीए ल्याएर सबैको ध्यान आकर्षित गरेकी थिइन्। डाक्टर बन्ने सपना बोकेकी उनलाई आर्थिक अभावका कारण लक्ष्य हासिल गर्न कठिन हुने अवस्था थियो। यो जानकारी पाएपछि गुरुङले व्यक्तिगत रूपमा बिहीबार उनलाई भेटेर एमबीबीएससम्मको अध्ययन खर्च व्यहोर्ने निर्णय गरेका हुन्।

    गुरुङको यो सहयोगले गोमाको भविष्य उज्ज्वल हुने विश्वास गरिएको छ। समाजमा यस्ता प्रतिभावान तर विपन्न विद्यार्थीलाई साथ दिँदा शिक्षा र सपनाको दैलो थप फराकिलो बन्ने देखिन्छ।