२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बम विस्फोटमा घाइते भारतीय नागरिक गौरीशंकर काठमाडौंमा: 'सफाइको खबरले अझ पीडा दियो'

चमारले भने, "त्यो दिन पैसा लिन आलमको घर गएका थियौं। ढोका नपुगेकै बेला बम पड्कियो, आगोले पोल्यो। भागेर घर पछाडिको पानीमा आफूलाई जोगाएँ।"



  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या ४३
  • काठमाडौं, असार २२ – नेपाली कांग्रेसका नेता आफताब आलमले उच्च अदालत जनकपुरबाट सफाइ पाएपछि रौतहटको चर्चित बम विस्फोट घटनामा घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमार काठमाडौं आइपुगेका छन्।

    भारतको सीतामढी निवासी चमार आइतबार राजधानीको भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै आफ्नो पीडा सार्वजनिक गरे।

    उनका अनुसार २०६४ साल चैत २७ गते रौतहटमा संविधानसभा निर्वाचनमा धाँधली गर्न तयार पारिएको बम आलमकै घरमा विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए।

    चमारले भने, "त्यो दिन पैसा लिन आलमको घर गएका थियौं। ढोका नपुगेकै बेला बम पड्कियो, आगोले पोल्यो। भागेर घर पछाडिको पानीमा आफूलाई जोगाएँ।"

    विस्फोटपछि बेहोस भएका चमारको आँखा भारतको सीतामढीस्थित अस्पतालमा खुलेको थियो। त्यहाँ उपचार गर्दा साढे ३ लाख भारतीय रुपैयाँ खर्च भएको उनले बताए।

    उनले आफू प्रहरी कार्यालयमा बयान दिन जाँदा आलमका समर्थकले आमालाई समेत धम्की दिएको खुलासा गरे। "छोरा त गयो, अब केही समय बितेपछि बाँच्दैन भनेर आमालाई धम्क्याएका थिए," चमारले भावुक हुँदै सुनाए।

    चमारले घटनापछि प्रहरीसमक्ष जाहेरी दिएका थिए, तर उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उनको बयान र मेडिकल प्रमाणलाई स्वीकार गरेन।

    न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले दिएको फैसलामा स्टोभ पड्केर घाउ भएको आशयको प्रेस्क्रिप्सन देखिएको भन्दै बम विस्फोट भएको भन्ने प्रमाण नपुगेको ठहर गरिएको छ।

    तर चमारले भने यो निर्णय आफूजस्ता पीडितका लागि अन्यायपूर्ण भएको बताए। "घाइते भएर शरीर पोलिएको मात्रै होइन, भविष्य पनि पोलेको छ। काम गर्न पनि गाह्रो हुन्छ। जति सुकै मिहिनेत गरे पनि विश्वास गर्दैनन्," उनले गुनासो गरे।

    उनले आफताब आलमले सफाइ पाएको कुरा पछि मात्रै थाहा पाएको र त्यो खबरले आफूलाई अझ चोट पुर्‍याएको बताएका छन्।

    घटनाका प्रत्यक्ष पीडित गौरीशंकर चमारले आफनो कथन अदालतले अस्वीकार गर्दा न्यायको अपेक्षामा ठेस लागेको बताएका छन्। अब भने उनले अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूको ध्यानाकर्षण गराउँदै न्यायको पुनः माग गर्ने तयारी गरेका छन्।