रसुवा, असार २४ - रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेसी क्षेत्रमा मंगलबार बिहान आएको आकस्मिक बाढीले स्थानीय बासिन्दा त्रसित बनेका छन्। तिब्बतको ल्हेन्दे खोलाबाट आएको पानीको बहाव भोटेकोशीमा मिसिएपछि बाढीले विकराल रूप लिएको हो।
स्थानीय बासिन्दा बुद्ध लामाले रातको समयमा घर हल्लिएको महसुस गर्दै भूकम्प आयो भनेर उठ्दा बाढीले घरहरू थर्काइरहेको देखिएको अनुभव सुनाए। "राति साढे तीन–चार बजेतिर घर हल्लियो, मलाई भूकम्प आयो कि जस्तो लाग्यो," उनले भने, "बाहिर निस्कँदा खोलो थर्काउने गरी ठूलो भइसकेको रहेछ।"
बाढीको प्रभाव यति गहिरो देखियो कि मानिसहरू घर छाडेर बाहिर निस्किन बाध्य भए। कतिपयले नगद, कागजात र आवश्यक सामान बोकेर सुरक्षित स्थानतर्फ जान थालेको लामा बताउँछन्। "खोलाको लय नै बिग्रिएको छ, बाटो समेत फेरिएको छ," उनले भने।
भोटेकोशीले आफ्नो बहावमार्ग परिवर्तन गरेपछि नदी किनारका घरहरूमा थप जोखिम देखिएको छ। बाढीले ठूला ढुंगाहरू बगाउँदै ल्याउँदा घर हल्लिएको महसुस भइरहेको र केही स्थानमा साना पहिरो खसेको पनि जानकारी प्राप्त भएको छ।
हालसम्म मानवीय क्षति नभए पनि खेतबारीमा नोक्सानी भएको छ। गाउँपालिका अध्यक्ष कैशुङ नुर्पु तामाङका अनुसार जोखिम यथावत् रहेकोले स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। "राहत र उद्धार कार्यमा बाढी र पहिरोले अवरोध पुगेको छ," उनले भने।
स्थानीयको भनाइमा क्षेत्र अत्यन्तै विकट भएकोले सरकारी संयन्त्रको उपस्थिति न्यून छ। "यहाँ प्रहरीको सानो पोस्ट मात्रै छ, ठूलो क्षति भएको भए केही गर्न सक्ने अवस्था थिएन," लामा भन्छन्, "भाग्यले ठूलो अनिष्ट टर्यो, तर जोखिम अझै कायम छ।"
गोसाइँकुण्ड गाउँपालिका र स्थानीयहरू बीच समन्वय गरी उच्च सतर्कता अपनाइएको बताइएको छ। प्रशासनले नदी किनार र पहिरो संभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस